
काठमाडौं । भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरधामको कुर्थासम्म नियमित रूपमा रेल सेवा सञ्चालन भएकाे १ वर्ष पूरा भएकाे छ ।
तर पनि नेपाल रेलवे कम्पनी अहिले पनि घाटामै चलिरहेको छ । आम्दानी भन्दा दुई गुणा बढी खर्च देखिएपछि रेलवेलाई आत्मनिर्भर बनाउन विभिन्न योजना अगाडि सारिए पनि १ वर्षको अनुभव खासै उपलब्धिमूलक छैन । २०७८ चैत २० गतेदेखि विधिवत सुरु भएको नेपाल रेल्वेले ७ सय १३ पटक जयनगर र कुर्था आउजाउ गर्दा १० लाख भन्दा बढी यात्रुले सेवा पाएका छन् ।
बन्द रहेको रेल सेवा सञ्चालनमा आएपछि सबै राम्रो भएको छ । कहिलेकाहीँ भीड हुँदा अलिकति समस्या हुन्छ नभई अरु सब ठिक छ । पुरानो रेलको संरचना जीर्ण भएपछि स्तरोन्तिका क्रममा ६ वर्षदेखि रेल चढन नपाएका धनुषा र महोत्तरी लगायतका भारतीय सीमावर्ती क्षेत्रका वासीन्दा निकै खुशि देखिए पनि नेपाल रेलवे भने घाटामै चलिरहेको छ । एक वर्षमा साढे ८ करोड आम्दानी गरे पनि १६ करोड भन्दा बढी खर्च रहेको रेलवे कम्पनीले जनाएकाे छ ।
विगतमा नेपाल र भारतबीच भएको सम्झौता अनुसार भारतीय प्राविधिक जनशक्ति कार्यरत रहेको रेलवेलाई अहिले भारतमै इन्धन भर्नुपर्ने र सरसफाई गराउनुपर्ने बाध्यता छ । त्यसो त आत्मनिर्भर बन्न रेल्वे कम्पनीले कर्मचारी पदपूर्तिका साथै विभिन्न योजना ल्याएको छ । कुनै बेला ब्रिटिस कम्पनीले नेपालको जंगलबाट सालको काठ ओसार्न सुरु गरेको कोइलाबाट चल्ने रेल अहिले न्यारोगेज हुँदै ब्रोडगेजमा परिणत भएको छ ।
जनकपुरधाम, पशुपतिलगायत धार्मिक र पर्यटकीय क्षेत्र भ्रमणका लागि रेल चढेर नेपाल घुम्न आउने पश्चिम बंगाल, उडिसा, झारखण्ड र बिहार लगायतका भारतीय पर्यटकको संख्यामा बढेको छ। रेल सञ्जाललाई नेपालमा विस्तारका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता अनुसार जयनगर–बर्दिबास ६९ किलोमिटर परियोजना मध्ये पहिलो चरणमा जयनगर–जनकपुर कुर्था खण्डको ३५ किलोमिटरमा रेलवे सेवा सञ्चालनमा रहेको छ।
कुर्थादेखि बर्दिबाससम्म संरचनाहरू निर्माणाधिन अवस्थामै रहेका छन् । हाल १७ भारतीय र ११० नेपाली कर्मचारी कार्यरत रहेको यस रेलवेको सुरक्षाका लागि ६० जना सशस्त्र प्रहरी कार्यरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्