
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार काठमाडांैको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रुपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रुपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
प्रवक्ता खतिवडाले भन्नुभयो, ‘बैठकले आगामी बैशाख ९ गते अर्थात अप्रिल २२ को दिन देशव्यापी रुपमा पार्टी स्थापना दिवस २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना दिवस बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौंमा एउटा केन्द्रिय कार्यक्रम हुँदै छ । प्रत्येक प्रदेश र जिल्लाहरुमा आ–आफ्नो अनुकूलता अनुसार उनीहरुले आफ्नो कार्यक्रम गर्नेछन् । देशव्यापी रुपमा यो कार्यक्रम गर्नका निम्ति पार्टीले निर्देशित गरेको छ ।’
बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उहाँको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताउनुभयो । उहाँले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रिय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।
सो पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमाले प्रवेश गर्ने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्