
काठमाडाैं । श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
आइतबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी समितिले मन्त्री किराँतीलाई विश्वविद्यालय सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो । एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी डा.जगमान गुरुङ संयोजक रहेको अध्ययन समितिले समयसीमाभित्रै अध्ययन प्रतिवेदन बुझाएको हो ।
श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री किराँतीले नेपालमा यस्ता धेरै अध्ययन समिति बन्ने तर पाएको जिम्मेवारी पूरा नहुने गरेको अवस्थामा यो समितिले त्यो प्रवृतिको ब्रिक गरेको बताउनुभयो । उहाँले समितिले श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर बनाएको प्रतिवेदन विस्तृत अध्ययन गर्ने बताउनुभयो ।
उहाँले संविधानले समाजवाद उन्मुख राज्यको व्यवस्था गरेको भन्दै समाजवाद गाडी वा जहाज चढेर नआउने बताउनुभयो। उहाँले समाजवाद सरकारले काम गरेर ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपाली मूल्य र मान्यताहरुलाई विस्थापित गरेर समाजवादको कल्पना गर्न नसकिने भन्दै यसतर्फ समाजको ध्यान जान नसकेको बताउनुभयो ।
उहाँले समितिले बुझाएको प्रारम्भिक अवधारणा भएको भन्दै विस्तृत अध्ययन समेत यही समितिले गर्नुपर्ने बताउनुभयो । मन्त्री किराँतीले २०८१ वैशाख १ गते शिलान्यास गर्ने गरी काम गर्न बताउनुभयो ।
अध्ययन समितिका संयोजक डा. जगमान गुरुङले विश्वविद्यालयले विश्वका पर्यटक आकर्षण गर्ने बताउनुभयो । उहाँले समितिले बनाएको अवधारणामा सरकारले कार्यविधि बनाएर संसदबाट पास गराएर २०८१ वैशाख १ गते शिलान्यास गर्ने योजना रहेको बताउनुभयो ।
समितिले नेपालको धर्म, दर्शन, संस्कृति र लोकपरम्परा लगायतको नेपाल मुखी रैथाने विषय अध्ययन अध्यापन गराउन हिन्दु विश्वविद्यालय आवश्यक रहेका प्रतिवेदनमा उल्लेख गरिएकाे छ । प्रतिवेदनमा उक्त विश्वविद्यालमा स्नातकोत्तर,एम.फिल. र विद्यावारिधि तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्