
काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी बैशाख २२,२३ र २४ गते हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।
प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा, संघको केन्द्रिय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोगमा हुन लागेको हो ।
प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने छ । निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड वेभरेजेज तथा अन्य सेवामुलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुने छ ।
यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीले नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो ।
उहाँले प्रदर्शनी उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रदर्शनीका क्रममा मेक इन नेपाल लगायतका स्वदेशी उत्पादकत्वको वृद्धि र पहुँच बिस्तारको गोष्ठी आयोजना गर्नेपनि बताउनुभयो ।
अध्यक्ष कँडेलले प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मुद्दा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस प्रदर्शनी नेपालको औद्योगिक विकासमा सहयोग पुर्याउन कोशे ढुंगा सावित हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्