
काठमाडौं । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जीतगढीमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा बिहीबार बुटवलमा जितगढी उत्सव मनाइँदैछ ।
कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको जितगढी किल्लाबाट अंग्रेज सेनालाई लखेटेको थियो ।
नेपाली वीरताको इतिहास बोकेको जितगढीको उत्खनन् र सम्वर्द्धनपछि जितगढी किल्ला ऐतिहासिक सम्पदा स्थलको रूपमा विकास भएको छ ।
जितगढी उत्सवको मौका पारेर नेपाली सेनाले गोरखादेखि जितगढीसम्मको पैदल यात्रा तय गरेको छ ।
तत्कालिन नेपाली सेनाले गोरखाबाट पैदल तय गरेको बाटो हुँदै नेपाली सेनाको टोली जितगढी पुगिसकेको छ । बिहीबार बिहान १० बजे जितगढी पुगेको सैनिक टोलीलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले स्वागत गर्नुभएको छ ।
साम्राज्य विस्तारका क्रममा भारतबाट नेपालतर्फ अघि बढेको इष्ट इण्डिया कम्पनी अन्तर्गतको अंग्रेज सेनासँग वि.सं.१८७१ देखि १८७२ सम्म घमासान युद्ध भएको थियो भने १८७२ वैशाख ७ गते अंग्रेज सेना भागेको थियो ।
उक्त गढीमा अहिले कर्णेल उजिर सिंह थापाको नौ फिट अग्लो शालिक र ५५ फिट अग्लो टावरमा राष्ट्रिय झण्डा फहराइएको छ ।
यस्तै, उक्त लडाईमा शाहादत प्राप्त गरेका नेपाली सैनिकहरु लेफ्टिनेन्ट अम्बर अधिकारी, वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा, सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, शमशेर राना र जुठे बस्नेतका अर्धकदका शालिक पनि निर्माण गरिएको छ ।
उक्त लडाइमा ३ सयभन्दा बढी अंग्रेज सैनिक मारिएको पाल्पाका ईतिहासविद् विमलबहादुर शाक्य बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्