२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी


14.625k
Shares

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको फोहोर रोक्ने चेतावनी दिएका छन् ।

हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा आफूले राखेको माग पूरा नभएको भन्दै जनप्रतिनिधिले १५ दिने अल्टिमेटम समेत दिएका छन् ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधिहरूको बैठक बसेर विभिन्न ६ बुँदे माग राखेका छन् ।

उनीहरुले बन्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने,प्रभावित पालिकालाई वर्गीकरण गरी बन्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग राखेका छन् ।

आफ्ना मागहरू यथाशीघ्र पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठक बसेर फोहोर व्यवस्थापन गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् ।

यसअघि गत जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षहरूको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो ।