
काठमाडौं । लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ ।
ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पाले थ्री स्टारलाई दबाब दिएर खेलेपनि नतिजा थ्री स्टारको पोल्टामा परेको हो ।
खेलको १४औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यको पासमा लाकेन लिम्बूको प्रहार सञ्जितको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । यद्यपि गोल लाकेन लिम्बूमा रह्यो । पछि परेसँगै खेलमा फर्किन हिमालयन शेर्पाले निकै मेहनत ग¥यो । तर ३४औं मिनेटमा आदित्यको प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले बचाउँदा थ्री स्टारले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
४८ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा चुक्दा हिमालयनले बराबरी गर्ने अवसर गुमाएको थियो । विश्वासको प्रहार बाहिरियो ।
थ्री स्टारका पटिर सेगुनले अबायोमी फकुन्लेलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । तर विश्वास श्रेष्ठ चुक्न पुगे । यस जितसँगै थ्री स्टार १० खेलमा ५ जित, ३ बराबरी र २ हारको नतिजासहित १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
पराजय व्यहोरेको हिमालयन समान खेलबाट २ जित, ३ बराबरी र ५ हारको नतिजासहित ९ अंकका साथ १३ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्