१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुल्मीमा डढेलो निभाउने क्रममा जलेर बालकको मृत्यु, एक गम्भीर घाइते


3.146k
Shares

काठमाडौं । गुल्मीको धुर्कोटमा जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

डढेलो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका–३ का १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पा लगिएकोमा उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोही स्थानका ५५ वर्षीय धनबहादुर कुँवर पनि जलेर गम्भीर घाइते भएको र उनको पाल्पामै उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।

धुर्कोटको वडा नम्बर–३ को हाडहाडे बर्दवास जंगलमा बिहीबार दिउँसोदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यसैगरी, गुल्मीकै इस्मा गाउँपालिका–५ मा जंगलमा लागेको डढेलो बस्तीमा फैलिंदा तीन वटा घर र दुई वटा गोठ जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ ।

इस्मा–५ चाँपटारीको वनमा लागेको आगो बस्तीसम्म फैलिंदा स्थानीय रुद्रबहादुर कुमालको टीनले छाएको तीनतले घर र खरले छाएको एउटा घर जलेको हो । कुमालको गोठमा रहेका बाख्राहरु पनि आगोलमा परी मरेका छन् ।

यस्तै, सोही गाउँका शिवलाल कुमालको पनि घर र गोठ पनि जलेको प्रहरीले जनाएको छ ।