८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही


858
Shares

काठमाडौं । साउनदेखि चैत मसान्तसम्म ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

कारबाहीमा परेकामध्ये तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभुमा गाभिएको)लाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ । सो बैंकले साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ । साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ । साउन, भदौ र असोजमा सो अनुपात कायम नगरेको नबिल बैंकलाई ६ करोड ४६ लाख जरिवाना गरिएको छ ।

भदौ र असोमा ग्लोबल आइएमई बैंकले सो अनुपात कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने सोही प्रकृतिको कारबाहीमा कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ बराबर जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

तत्कालीन एनसीसी (हाल कुमारीमा गाभिएको) र कुमारी बैंकलाई भने सचेत गराइएको छ । राष्ट्र बैंकका अनुसार कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी गरेको र तत्कालीन एनसीसी बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधिविपरित एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेको थियो ।