३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नयाँ वर्ष २०८० को पहिलो सातामा नेप्से ३० अंकले घट्यो


104
Shares

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ ।

गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ ।

पछिल्लो सातामा भएको ५ कारोबार मध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ । नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन ।

गत साता वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो । साताको पहिलो कारोबार दिन बैशाख ३ गते आइतबार, सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले वृद्धि भएको थियो ।

२०८० को पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो । उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । आइतबार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो । नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो । सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता शेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो ।

यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता शेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, लगातार रुपमा घट्दै आएको नेप्से बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो । बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै काारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिदाँ समेत पनि शेयर बजारमा खासै प्रभाव पर्न सकेन ।

अधिकांश बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन् । यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ । गत साता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सिमित भएको छ ।