
काठमाडौं । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा आगलागी हुँदा करिब एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् ।
शुक्रबार राति आगलागी हुँदा ६ पसलमा रहेका सामान नष्ट भएका छन् भने तीन खाली सटरसमेत जलेर नष्ट भएको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो ।
आगालागीबाट धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसलमा २५ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसलमा ३५ लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसलमा २० लाख, कमला तामाङले सञ्चालन गरेको जुत्ता पसलमा १६ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको डेरीमा दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसलमा दुई लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै, आगलागीबाट श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको पसलको सटरसमेत जलेर नष्ट भएको छ ।
नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो निभाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्