
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको मतदान जारी छ । केही समय अघि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका स्थित –११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
उहाँले मतदान गर्नु भएपछि सामाजिक सञ्जाल फेसबुक लेख्नुभएको छ, ‘मैले मतदान गरें । तपाईं पनि आफ्नो मतदान स्थलमा गएर मताधिकार प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।’
तनहुँको उपनिर्वाचनमा ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेको छैन ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि कांग्रेसबाट भट्टराई, एमालेबाट खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ ।
यो क्षेत्रबाट कांग्रेसका भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले मात्र आफ्ना लागि मतदान गर्नुहुनेछ । अन्य उम्मेदवारले त्यहाँ मतदान गर्न नपाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्