७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


उपनिर्वाचनमा कम मत खस्यो


962
Shares

काठमाडौं । तीन वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनको मतदान सकिएको छ ।

चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटफुटबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परेका थिए । चितवनका केही मतदान केन्द्रमा रोकिएको मतदान ३ बजेपछि सुरु भएको र निर्धारित समयभन्दा ढिला गरि मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिँदै सबै निर्वाचन क्षेत्रमा आम निर्वाचनको भन्दा कम मत खसेको जानकारी दिनुभयो ।

तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतपेटिका संकलन जारी रहेको भन्दै उहाँले आजै रातिबाट मतगणना सुरु गरिने जानकारी दिनुभयो । उपनिर्वाचनको मतपरिणाम तीन दिन भित्रमा आइसक्ने आयोगले जनाएको छ ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवाद अदालतको फैसलापछि रिक्त भएको थियो । त्यस्तै, तनहुँ र बाराबाट निर्वाचित सांसदहरु राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।