७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नरभक्षी बाघलाई चिडियाखानामा राखियो


143
Shares

काठमाडाैं । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिएर आइतबार सदर चिडियाखाना जावलाखेलमा ल्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना जावलाखेलमा राखिएको हो । यहि वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो ।

आक्रमणपछि उहाँको निधन भएको थियो । अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार, बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघ नियन्त्रणमा लिइ भिडियाखानामा ल्याइएको हो ।

बाघ नियन्त्रणमा लिइ चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिइ चिडियाखानामा राखिएको बताउनुभयो । उहाँले अहिले चिडियाखानामा ४ वटा बाघ राख्न सक्ने क्षमता भएपनि ५ वटा बाघ रहेको बताउनुभयो ।

उहाँले आइतबार ल्याइएको बाघसहित ५ वटा बाघ मध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको बताउनुभयो । उहाँले चिडियाखानमा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको बताउनुभयो ।

उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत १ महिनाको अवधिमा थप दुई जना र एक जना नेपालीसहितको बाघका कारण ज्यान गएको पाइएको सदस्य सचिव अधिकारीले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ ।