१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको जापानी प्रधानमन्त्रीको भनाइ


195
Shares

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताउनुभएको छ ।

प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा संसदको तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको बताउनुभएको हो ।

“हामीले एकपछि अर्को गर्दै महत्वपूर्ण नीतिहरु अवलम्बन गर्नुपर्ने भएकाले म तत्कालका लागि विघटन र आम निर्वाचनको बारेमा सोचिरहेको छैन,” प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै किशिदाले भन्नुभयो ।

उहाँले अर्को महिना हिरोशिमामा हुने विकशित राष्ट्रहरूको समूह जी–७ शिखर सम्मेलनपछि चुनाव गराउने योजना बनाइरहेको हुन सक्ने अनुमान गरिएको छ ।

आइतबार भएको संसदीय उपनिर्वाचनमा किशिदा नेतृत्वको सत्तारुढ एलडीपीले पाँचमध्ये चार सिट जितेको छ भने विपक्षी ‘जापान इनोभेसन पार्टी’ले एक सिट जितेको छ ।

एलडीपीले प्रतिनिधि सभा वा तल्लो सदनको तीन निर्वाचन क्षेत्र र माथिल्लो सदन हाउस अफ काउन्सिलरको एक निर्वाचन क्षेत्रमा विपक्षी दलका उम्मेदवारहरूलाई पराजित गरेको थियो ।

जापान इनोभेसन पार्टीले एलडीपीलाई पराजित गर्दै तल्लो सदनको आफ्नो सिट सुरक्षित गरेको छ भने प्रमुख विपक्षी कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापानले तीनवटै निर्वाचन क्षेत्रमा हार बेहोरेको छ ।