
काठमाडौं । धनुषा प्रहरीले ७ लाख भन्दा बढी नक्कली नोटसहित एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ ।
७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका-६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीय साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो ।
महिलाले कालो रङको झोला बाेकेर यताउती हिंड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । निज महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । गौतमले उक्त नक्कली नोट १ लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताउनुभयो ।
निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्