
काठमाडौं । प्रतिनिधि सभाका सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएको हाे । गाउँपालिकामा आगलागीबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुडा र चौपाय जलेर नष्ट हुँदा करिब २५ लाख भन्दा बढीको क्षति भएको उहाँले उल्लेख गर्दै उहाँले तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।
सांसद ढकालले भन्नु भयो,-‘यहि वैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुडा र पशुचौपाय जलेर पूर्ण रुपमा नष्ट भएको छ । २५ लाख भन्दा बढिको क्षति भएको छ । छिटो भन्दा छिट्टो यी अग्नी पीडितहरुलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु ।’
गत वैशाख ८ गते नरैनापुर गाउँपालिकामा आगलागी भएको थियो । अहिलेसम्म पनि राहत नपाएपछि पीडितहरु खुला आकाशमा बस्न बाध्य भएको सांसद ढकालले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्