
एजेन्सी । भारतीय अभिनेता सैफ अली खानले फिल्म ‘आदिपुरुष’ को प्रचार नगर्ने बताएका छन् ।
सैफ आफ्नी पत्नी करीना र छोरा तैमुर अली खान र जेह अली खानसँग मे महिनामा वार्षिक छुट्टी मनाउन देश बाहिर जाने भएका छन् । यही कारण उनले ‘आदिपुरुष’ को प्रचारप्रसारमा सहभागी नहुने बताएका छन् ।
ओम राउतको निर्देशनमा बनेको फिल्म ‘आदिपुरुष’ मा सैफले रावणको भूमिका निभाएका छन् । फिल्मको प्रचार मे महिनाबाट सुरू हुने भएको छ । फिल्मको निर्माण पक्षका अनुसार सानो स्तरमा प्रचारको योजना बनाइएको छ र फिल्मको पूर्ण रूपमा मुख्य अभिनेता प्रभासलाई केन्द्रमा राखेर प्रचार गरिनेछ ।
यो फिल्म यसअघि जनवरी महिनामा रिलिज हुने तय भएको थियो, तर फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्को आलोचना हुन थालेपछि निर्माण पक्षले रिलिज मिति पछि सारेको थियो ।
यस क्रममा भिएफएक्समा पुनः काम भइरहेको पनि खुलासा भएको थियो । लगातार विवादमा परेपछि अब यो फिल्म जुनमा रिलिज गर्ने तयारी भइरहेको छ ।
फिल्ममा प्रभास र सैफसँगै कृति सेनन र सन्नी सिंह पनि देखिनेछन् ।
प्रतिक्रिया दिनुहोस्