८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा


338
Shares

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ ललितपुरको गाःबहाल पुर्‍याइएको छ ।

रथलाई पुल्चोकबाट तानेर मंगलबार गाःबहाल पुर्‍याइएको हो ।

बुधबार गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ । सोमबारबाट रथ यात्रा सुरू भएको थियो । तर सोही दिन गाःबहाल पुर्‍याउनुपर्ने भएपनि मंगलबारमात्रै गाःबहाल पुर्‍याइएको हो ।

रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाइन्छ ।

मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् ।

जावलाखेल पुर्‍याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ ।

ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमबारबाट रथयात्रा सुरू गरिएको हो ।

आज बुधबार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ ।