७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकको प्रदर्शन


169
Shares

काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

बुधबार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरुले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो ।

त्यस्तै, डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिएपनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाउनुभयो । उहाँले दक्षताको मात्रै समस्या नभइ छात्रवृत्ति र पैसा तिर्नेकुरामा पनि समस्या रहेको बताउनुभयो । त्यस्तै, प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पौष २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको बताउनुभयो ।

उहाँले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरुले धम्कीपूर्ण रुपमा विद्यार्थीहरुलाई दबाब दिइरहेको बताउनुभयो । उहाँले आफ्नो माग पूरा नभएसम्म निरन्तर बिरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिनुभयो । त्यस्तै, प्रदर्शनकारी डा.श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरुमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताउनुभयो । उहाँले मुद्दा विद्यार्थीहरुको पक्षमा आएपनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको बताउनुभयो ।

प्रदर्शनका क्रममा उनीहरुले आज तपाईलाई बचाउने हातहरुले न्याय पाएनन्, भोलि कसको पालो ?, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, चिकित्सा भर्नामा जात्रा भयो, श्रीकृष्ण हो की सकुनी हो, अदालतको कुरा नसुन्ने हो ? हेर बुझ साथी हो, के चिकित्सा आयोग न्याय भन्दा माथि हो जस्ताप्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले विगत ४ महिना यता आन्दोलन गर्दै आएका छन् ।