१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अर्थतन्त्रमा देखिएका चुनौतिहरु सत्ता र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक छ : अर्थमन्त्री महत


91
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताउनुभयो ।

उहाँले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्वतहमा छलफल भइरहेको पनि दाबी गर्नुभयो । उहाँले सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधान गर्ने ठोस प्रतिवद्धता सरकारसँग रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताउनुभयो । उहाँले सिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गर्नुभयो ।

उहाँले सरकार सम्पूर्ण रुपमा इमान्दारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टी भन्दा माथि उठेर देश र जनतालार्इं केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अर्थमन्त्री डा. महतले अर्थमन्त्री भएर आएको एक महिना भएकाले भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताउनुभयो । उहाँले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले अर्थतन्त्रमा वाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाई गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि, आयात प्रतिबन्द लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । उहाँले सरकारको पुँजीगत खर्च कम हुने प्रवृति यो वर्ष पनि कायम भएको र दुई वटा निर्वाचनमा सरकारको ध्यान केन्द्रित भएको कारण पनि समस्या भएको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताउनुभयो । उहाँले बजार संकुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनःविचार गर्ने र मौद्रिक नीतिका यन्त्रहरु प्रयोग गरी शेयर बजार, अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो ।