
काठमाडौं । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरका स्थानीयले पसलमा रहेकी महिलाको हत्या भएको एक साता बित्दा पनि प्रहरीले घटनामा संलग्न अपराधी पत्ता नलगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
यही बैशाख ७ गते दिउँसो सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको धारिलो हतियार प्रयोग गरेर घाइते बनाइएको थियो । पसलमा एक्लै रहेकी पाण्डेलाई पसलमा पुगेका ग्राहकले घाइते अवस्थामा फेला पारेका थिए । त्यसलगत्तै उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना भएको एकसाता बित्न लाग्दा पनि प्रहरीले अपराधमा संलग्न कसैलाई पक्राउ नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले घटनाबारे अनुसन्धान भइरहेको बताएपनि प्रहरीको कार्यशैलीप्रति आशंका व्यक्त गरेका छन् । उनीहरुले प्रहरीले गरेको ढिलासुस्तीले घटनाको ढाकछोप हुने खोजेको आरोप लगाएका छन् ।
सांसद टोपबहादुर रायमाझीले घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले प्रहरीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारवाही नगरेसम्म आफूले पनि निरन्तर दवाव दिने बताउनुभयो ।
स्थानीयले सरकारले सुरक्षा व्यवस्था नमिलाए पेशा व्यवसाय गर्न नसक्ने बताएका छन् । स्थानीयले घटनाबारे प्रशासनले तत्काल जानकारी गराउन पनि माग गरेका छन् । उनीहरुले प्रहरीले अपराधी सार्वजनिक नगरेसम्म निरन्तर धर्ना दिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्