
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारले दायर गरेका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाइ सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
जसमा गैरकानूनी सम्पत्ति आर्जन, घुस रिसवत र नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध पनि सर्वोच्चमा पुनरावेदन गरेको हो ।
कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, नविनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको दाबीसहित सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरुको चल अचल सम्पत्ती समेत जफत गर्न माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ साल पुस १ गते सफाइ दिने फैसला गरेको थियो ।
अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध यसअघि पनि दर्जनौँ मुद्दाहरु पुनरावेदन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्