
काठमाडौं । नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन्दीप लामिछानेको अलराउण्ड प्रर्दशनको मद्दतले समूह चरणको अन्तिम खेलमा बिहीबार कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, खेलमा नेपाली बलरहरु हावी भएपछि कतारले २५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो ।
नेपाली बलर सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सन्दीपले ९ ओभरमा ३ मेडन राख्न सफल भए । सोमपाल कामीले ३ विकेट झारे । ललित राजवंशीले दुई विकेट आफ्नो नाममा लेख्न सफल भए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए ।
कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्धतमा ४२ रनमा नटआउट रहे ।
सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो । कतारका लागि अमिर फारुकले ४ विकेट लिए । एसिसी प्रिमियर कप अन्र्तगत मुलपानी क्रिकेट मैदानमा भईरहेको अर्को खेलमा कुवेतले हङकङलाई २७३ रनको लक्ष्य दिएको छ ।
प्रतिक्रिया दिनुहोस्