
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गर्नुभएको हो ।
उहाँले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्विकार्य नहुने बताउनुभयो ।
सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो । उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गराउन सरकार नलागेको आरोप समेत लगाउनुभयो ।
प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्ता पक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा प्रहार गर्ने कोशिस गरिएको भन्दै निन्दा र भत्सर्ना गर्नुभयो । उहाँले घटनामा संलग्नहरुलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्