
काठमाडौं । महिला राजनीतिकर्मीहरुले दल र नेतृत्वको दबाबले महिलाले आफूलाई प्रमाणित गर्न नसकेको बताएका छन् ।
दलहरुको बन्धन, अडान र नेतृत्वको दबाबका कारण महिलाले अधिकारका विषय उठाउन पछि परिरहेको उनीहरुको भनाइ छ । उनीहरुले पदमा पुगेका महिलाले समेत देशको समृद्धि, विकास र हीतमा बोल्न नसकेको बताए ।
संसदको समानुपातिक प्रणाली श्रीमती राख्ने ठाउँजस्तो भएको भन्दै उनीहरुले महिलाले पाएको अधिकारलाई समाजमा लागू गराउन सबै महिला एकत्रित हुनुपर्नेमा जोड दिए ।
नेपाल समाजवादी पार्टीकी सांसद सिर्जना रिजालले महिलाहरु एकत्रित भएर महिलाका हक, अधिकारको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा महिला नै विभाजित रहेको भन्दै एकत्रित हुन नसक्दा आफ्ना हक अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो । उहाँले दलहरुको दबाबले मनका कुरा पनि व्यक्त गर्न नपाएको गुनासो गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) की नेतृ पार्वती विशुन्खेले नेपालले बाहिरि मुलुकको समाजवाद भित्र्याएर देशको विकास हुन नसक्ने बताउनुभयो । उहाँले बाहिरि मुलुकको जस्तो समाजवाद नेपालमा भित्र्याउँदा आवश्यक वर्ग र समुदाय समेटिन नसक्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) की नेतृ पार्वती थापाले महिलाको हकहीतको लागि लडेको मानिसलाई छुवाछुतको व्यवहार गर्नु नहुने बताउनुभयो । उहाँले माओवादी जनयुद्धमा हिँड्दा अछुतो व्यवहार गर्ने स्थितिबाट आन्दोलनको उपलब्धीले नै यो अवस्थामा आइपुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्