१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मौलाकालिकामा केबलकार सञ्चालन भएसँगै पर्यटक बढे


273
Shares

काठमाडाैं । पूर्वीनवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केबलकार सञ्चालन भएसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ ।

मौलाकालिका केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको हाे । गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केबलकार सञ्चालन भएसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ । नयाँ वर्ष यता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ ।

मौलाकालिका मन्दिर व्यवस्थापक छवि खनालले संचारकर्मीसाग कुरा गर्दै मौलाकालिका केबलकार निर्माणले मन्दिरको धार्मिक महत्वलाई बढावा दिएको बताउनुभयो । उहाँले मौलाकालिका केबलकार सञ्चालनले चितवन, नवलपरासी र तनहुँ मात्रै नभइ नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले मौलाकालिका मन्दिरको छुट्टै धार्मिक महत्व रहेको भन्दै यसलाई पवित्रस्थल देवघाट धामसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले केबलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि भएको बताउनुभयो । उहाँले मौलाकालिका केबलकार मन्दिरको आधार र मन्दिर केवलकारको आधार बनेको भन्दै दुवैको समन्वयमा यो क्षेत्रको विकासमा हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, मौलाकालिका मन्दिरका पुजारी नेरेन्द्रप्रसाद भट्टराईले मौलाकालिका मन्दिरको पौराणिक र धार्मिक महत्व रहेको बताउनुभयो । उहाँले मौलाकालिका केवकार सञ्चालनले मन्दिरको धार्मिक महत्वलाई बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्षबाट केवलकार सञ्चलनमा आएसँगै मौलाकालिका मन्दिर दर्शन गर्ने दर्शनार्थीहरु बढेको बताउनुभयो।

होटलसहितको मौलाकालिका केबलकार करिब १ अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ । केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । केबलकारले स्थानीयसहित करिब ४ सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधिन अवस्थामा छ ।

मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ । केबलकारको एकतर्फी लम्बाई १ हजार २ सय मिटर छ । यसका लागि ६ वटा टावर निर्माण गरिएको छ ।

केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा ८ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न ५ मिनेट लाग्दछ । केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वीनवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।