
काठमाडौं । कार्यवहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाई थियो । आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै कार्यबहाक राष्ट्रपति यादवले आयुर्वेदको समय अनुकूल स्वास्थ्य नीति एवम् कार्यक्रम तर्जु गर्न र स्वास्थ्य विमामा आयुर्वेद सेवालाई समावेश गर्ने कार्यमा लाग्न पनि सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।
उहाँले आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको वृत्तिविकास, अवसर सृजना गर्न सम्वद्ध सबै लाग्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यबहाक राष्ट्रपति यादवले नेपालमा आधाभन्दा बढि आयुर्वेद औषधि आयात गर्नुपर्ने अवस्था रहनु बिडम्बनापूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि स्थानीय जडिबुटी एवम् स्रोत, साधनहरुको अधिकतम प्रयोग हुने गरी लगानी र उत्पादनमा वृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यबहाक राष्ट्रपति यादवले नेपाललाई मेडिकल टुरिजमको रुपमा विकास गर्ने सम्भावना उच्च रहेको पनि बताउनुभयो । त्यसका लागि आयुर्वेद क्षेत्रमा लगानी र उत्पादन बढाउन सम्वद्ध सबै पक्षले जोड दिनुपर्ने उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्