
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरु सल्बलाउन थाल्दा पनि सरकार गम्भिर नभएको ओलीको भनाई थियो ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरिहता मात्रै प्रकट गरिरहेको जिकीर गर्नुभयो ।
ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
त्यस अवसरमा ओलीले श्रमिकहरुबीच फाटो ल्याउने प्रयास फेरी पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढन सबै मजदुरहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभयो ।
मजदुरको हक, हित र उनीहरुको जायज माग सम्बोधन गर्न उनीहरुको बीचको एकता सबैभन्दा ठूलो बल भएको उहाँले स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्