१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमामा सशस्त्र प्रहरीले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन नगर्ने


988
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ ।

सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्काले देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरेको बताउनुभयो । उहाँले फूल दिनै परे स्थानीय स्तरमा उपलब्ध भएको फूल प्रयोग गर्न निर्देशन दिइएको बताउनुभयो ।

सशस्त्र प्रहरी बलले सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीतिसमेत अख्तियार गरेको छ । प्रवक्ता खड्काका अनुसार सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोशाकमा कर्मचारी नखटाउने निर्णय गरिएको हो ।

सशस्त्र प्रहरी कर्मचारीलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटलाई पनि कडाइ गरिएको छ । खड्काले यसबारे आचरण सम्बन्धी स्थायी आदेश नै जारी गरेको बताउनुभयो ।

उहाँले विदेश तालिममा पठाउनका लागि नीति तर्जुमा गरेर नियम संगत रुपमा मापदण्डमा पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था गरेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिँदै ६५ युनिटहरुमा जवान मेसको स्तरोन्नति गरिएको खड्काको भनाई छ ।

प्रवक्ता खड्काले जनशक्तिको अनुपातमा शौचालाय तथा स्नान गृहको निर्माण गरिएको छ । ‘एक जवान एक बेडिङ्ग तयार भइसकेको छ, ७० युनिटहरुमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उहाँको भनाई छ ।