
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत पाउनुभएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी लगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । नेकपा एमालेका प्रदेशसभा सदस्यले विपक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।
यसअघि ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गर्नुभएको थियो । चौधरी नेतृत्वको सरकारमा ३ जनाबिना विभागीय मन्त्री रहेका छन् ।
नेकपा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्