
-कविराज घिमिरे/ईमेज:
धनकुटा । धनकुटास्थित प्रदेश संग्रहालयमा विभिन्न जातिगत गरगहनासहितका अमूल्य बस्तु संग्रह गरिएको छ ।
तर अमूल्य गरगहनासहितका बस्तुको सुरक्षाका लागि भने सिसी क्यामेराको मात्र भर पर्नुपर्ने बाध्यता छ ।
अवलोकनका लागि तयारी गरिएको सात वर्ष पछि धनकुटा स्थित प्रदेश संग्रहालयमा निर्माण गरिएको दोस्रो ग्यालरी बल्ल संचालनमा आएको छ ।
आदीवासी जनजाती भित्र पर्ने बिभिन्न समुदायले लगाउने करोडौं मुल्य बरावरका बहुमुल्य गरगहानाहरु संग्रहित गरिएको सो ग्यालरी सुरक्षाको कारण देखाउँदै सात बर्षसम्म संचालन हुन सकेको थिएन ।
तर हालसम्म सुरक्षाको कुनै प्रबन्ध मिल्न नसके पछि अन्तत सीसी क्यामेरा जडान गरी संचालनमा ल्याइएको हो ।
२०३९ सालमा निर्माण गरी ५१ सालबाट सर्बसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको यो संग्रहालयमा दुई वटा ग्यालरी संचालनमा छन् ।
पहिलो ग्यालोरीमा साबिकको पुर्बाञ्चल बिकास क्षेत्रमा बसोवास गर्ने बातर, लेप्चा, मेचे, धिमाल, राजबंसी, लिम्बु, थारु, झागड, शेर्पा, सतार, आठपहरिया, राई लगायतका जातिको पहिरन, वाजागाजा, जातिय हतियार लगायतका बस्तु संग्रहित छन् ।
त्यस्तै भख्खरै खुल्ला गरिएको दोस्रो ग्यालरीमा तिनै जातजातिको बहुमुल्य गरगहना संग्रहित गरी प्रदर्शनमा राखिएको छ ।
तिनै बहुमुल्य गरगहना तथा अमुल्य बस्तुहरु सीसी क्यामेरा र कर्मचारीकै मात्र सुरक्षाको भरमा संग्रहालयमा राखिएको कार्यलयका सुचना अधिकारी प्रेम राइ बताउँछन् ।
संग्रहालयमा सुरक्षका लागि कार्यलयले कुनै पहल नै नगरेको भने हैन ।
दोस्रो ग्यालरी निर्माण गरिए संगै सुरक्षाको आबश्यता समेत महसुस गरी पुरातत्व बिभाग आर्थिक सहयोगमा एक हबल्दार र तिन प्रहरीको लागि सेन्ट्री पोष्ट आवास भवन सहितको पूर्वाधार निर्माण गरी सकिएको छ ।
तर, पटक पटक सुरक्षाकर्मीको माग गर्दा समेत पुरातत्व बिभागले सुरक्षाकर्मी उपलब्ध गराउन सकेको छैन ।
सुरुमा पुरातत्व बिभागअन्तर्गत रहेको यो संग्रहालय अहिले प्रदेश सरकार अन्तर्गत सामाजिक बिकास मन्त्रालयको मातहतमा पुगेको छ ।
जसका कारण सुरक्षाको प्रबन्ध मिलाउन थप समस्या भएको कार्यलयका प्रमुख चन्द्र अधिकारी बताए ।
आबश्यक सुरक्षाको प्रबन्ध गर्न संग्रहालयले बर्षौ अघिबाट सुरक्षा जोखिमको सामना गर्दै आएको छ ।
एक दशक अघिबाट नै सुरक्षाको आबश्यक्ता महसुस गरी माग गरिए पनि हालसम्म सुरक्षा उपलब्ध हुन सकेको छैन ।
यस्तोमा पुरातत्व बिभागले होस् वा प्रदेश एक अन्तर्गतको सामाजिक मन्त्रालयले होस, चाडोभन्दा चाडो थप सुरक्षाको प्रबन्ध गरी सिसी क्यामेराको मात्र भर रहेको सुरक्षा ब्यबस्थालाई मजबुद बनाउन आबश्यक छ ।
प्रतिक्रिया दिनुहोस्