
काठमाडौं । किराँत राई समुदायले आज (शुक्रबार) उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत–राई समुदायले भूमेस्थानमा पूजा गरी उभौली पर्व मनाउँछन् ।
किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किराँतहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरू भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
गर्मी बढ्ने भएकाले यो समुदाय बेंसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको कथन छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेंसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेंसी झरेकाहरु आजदेखि उभो लाग्छन् ।
यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनिन्छ ।
प्रतिक्रिया दिनुहोस्