
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ ।
काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी\ एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताउनुभयो । सचिव खरेलले विभेदमा परेकाहरुले प्रहरीमा उजुरी गर्न आग्रह पनि गर्नुभयो । प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गर्नुभयो । उजुरी उपर कठोरताका साथ कारबाही गरिने उहाँले बताउनुभयो । उहाँले नेपाल प्रहरीले चलाइरहेको अल्पसंख्यकसँग नेपाल प्रहरी भन्ने कार्यक्रममा एचआईभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा एचआईभी संक्रमितहरुको पक्षमा प्रहरीले सक्रियतापूर्वक काम गर्ने पनि उहाँले बताउनुभयो ।
उहाँले सामाजिक चेतनालाई अभिवृद्धि गर्ने तर्फपनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्