
एजेन्सी । म्यानमारको सेनाले आममाफी अन्तर्गत ३८ जनाको मृत्युदण्डको सजाय घटाएको छ ।
गत जुलाईमा ४ जना विपक्षीलाई मृत्युदण्ड दिइएको थियो । पछिल्ला वर्षहरुमा म्यानमारमा सैनिक नेतृत्वले १ सय भन्दा बढीलाई राजनीतिक प्रतिशोधका कारण मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सैनिक सरकारले २ हजार भन्दा बढी राजनीतिक कैदीबन्दीहरुलाई आममाफी दिने बताए पनि पहिलो चरणमा ३८ जनालाई आममाफीसहित रिहा गरिएको समाचारमा जनाइएको छ ।
विभिन्न मानवअधिकारवादी संघ संस्थाको चर्को विरोधका कारण सरकारले ती राजबन्दीलाई आममाफी दिन बाध्य भएको जनाइएकाे छ । सन् २०२१ फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपधस्त गरेर सैनिक नेतृत्वले सत्ता लिएसँगै भएका विभिन्न दमन आन्दोलनमा सयौं सर्वसाधारणको मृत्यु भएकाे छ ।हजरौंलाई नियन्त्रणमा लिएर विभिन्न मुद्दा चलाइएको थियो ।
सैन्य सरकारको सोही कदमको विभिन्न मानवअधिकारवादी अन्तर्राष्ट्रिय संघ संस्थाले चर्को विरोध गरेका थिए । गत वर्षको जुलाइमा सेनाले सान् १९८० को दशकपछि पहिलो पटक ४ जना उच्च राजनीतिक अधिकारीहरुलाई मृत्युदण्ड दिएसँगै त्यसको सर्वत्र विरोध भएको थियो । मृत्यु भएका चार जना व्यक्ति हाल कारागारमा रहेकी नेतृ आङसाङ सूचीका मुख्य सहयोगी फ्यो जेया जेया थाउ पनि रहेका थिए ।
सरकारको विरोध गर्नेहरुलाई सेनाले नियन्त्रणमा लिएर मुद्दा चलाउने गरेको छ । गत नोभेम्बरमा एक सैन्य न्यायाधीशले याङ्गुनमा एक जना पूर्व सैनिक अधिकारीलाई गोली हानेर मारेको आरोपमा विश्व विद्यालयका ७ जना विद्यार्थीलाई फाँसीको सजाय सुनाएका थिए ।
सोही महिना अन्य ३ जनालाई स्थानीय अधिकारीको हत्या अभियोगाम मृत्युदण्डको सजाय सुनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्