८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ सम्पन्न


429
Shares

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिंदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ।

साेही अवार्ड २०७९ शुक्रबार राति काठमाडाैंमा सम्पन्न भएको हाे। २०७९ सालमा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम विन्ध्यवासिनी म्युजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पुर्‍याए बापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरेको हो ।

त्यसै गरी नगद ५० हजार रुपैयाँसहित गायिका सुकमित गुरूङलाई विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ । लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित भएकाे झलकमान लोक संगीत सम्मान २०७९ बाट नगद २५ हजार रुपैयाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएकाे छ।

समारोहमा लोकगायक पंगेनीले आफूलाई शब्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मान बापत प्राप्त २५ हजार रुपैयाँ विन्ध्यवासिनी फाउण्डेशनलाई हस्तान्तरण गरेका थिए। समारोहमा ख्याति प्राप्त गायक स्व.प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज संगीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपैयाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ।

विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गिति संग्रह नजर ३ विमोचन गरिएको थियो । नजर २ गिति संग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो।विन्ध्यवासिनी फाउण्डेशनले यसअघि नजर गिति संग्रहबाट सङ्कलित सम्पूर्ण आम्दानी ८ लाख १८ हजार २ सय ५० रुपैयाँ दुई किस्ता गरी सोही संस्थालाई हस्तान्तरण गरेको फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराएकी हुन् ।

समारोहमा सुमन कुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए।