
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलाको अतिक्रमण हटाउन वैधानिक रुपमा बाटो खुला भएको बताउनुभएको छ ।
उच्च अदालत पाटनको फैसलाबाट टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा बग्न दिने बाटो खुला भएको भन्दै मेयर साहले अब अतिक्रमित संरचना हटाउने काम पुनः अघि बढ्ने बताउनुभएको हो ।
आइतबार बिहान सामाजिक सञ्जालबाट उहाँले टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरबासीको सर्वाेत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने प्रकृया अगाडि बढाउने बताउनुभएको हो ।
उच्च अदालनले टुकुचा ढल नभएर खोला नै हो भन्ने ठहर गरेको भन्दै उहाँले फैसलाले काठमाडौं महानगरपालिका लगायत संघीय सरकारका सम्बन्धित निकायहरूको समेत ध्यानाकर्षण गरेको उल्लेख गर्नुभएको छ ।
मेयर साहले कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा नदी माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने पनि दोहार्याउनु भएको छ ।
कुनै पनि खोला छोप्ने कार्य बर्जित हो भन्दै उहाँले फैसलाबाट टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने महानगरपालिकाको पहिलो प्रयासलाई सफलता मिलेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्