
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको सुरूवात गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित नेपाल बिजनेश समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामि आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले तीब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत र सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले वदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यक्ता महशुस गरेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले प्रतिभावान विद्यार्थी विदेश पलायन हुनबाट रोक्न विदेशी विश्वविद्यालयहरु नेपालमै सहज रुपमा खोल्न पाउने नीति बनाउने उद्घोष गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सामुहिक प्रयासबाट अहिलेका सम्पूर्ण समस्याको समाधान गर्न सकिने बताउनुभयो । उहाँले शिखर सम्मेलनले आगामी आर्थिक वर्षको बजेट तयार गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान अवस्थामा नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको बताउनुभयो । कृषिलाई उच्च प्राथमिकता दिएर मात्रै देशको समग्र उद्योग र अर्थतन्त्रलाई सुदृढीकरण गर्न सकिने बताउनुभयो ।
कृषिमा क्रान्तिकारी सुधार आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्