
काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुनसक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।
आइतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै अध्यक्ष गोल्यानले यस्तो बताउनुभएको हो । उहाँले मुलुक आत्मनिर्भर बन्नको लागि आयात बढाउँदै राजश्व उठाउने नीति परिवर्तन हुनुपर्ने बताउनु भयो । उहाँले उत्पादनको दृष्टिकोणले आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर उन्मुख क्षेत्रलाई संवद्र्धन गर्न र न्युन बिजीकीकरणलाई निरुत्साहित गर्न नेपाली उत्पादनहरुको उत्पादन मूल्य भन्दा कममा आयात नहुने गरी भन्सार समर्थन मूल्य कायम गरिनुपर्ने बताउनु भयो ।
उहाँले सरकारले निर्यातमुलक उद्योगहरुको प्रतिष्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमुलक उद्योगहरुलाई आवश्यक विद्युत ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई २० प्रतिशत छुट दरमा विद्युत उपलब्ध गराउनुपर्ने बताउनु भयो। उहाँले बिलासिताका सामान रोक्नु भन्दा तिनीहरुमा भन्सारको दर बढाएर राजश्व बढाए आयात नियन्त्रण समेत हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भारतमा रहेका नेपाली नागरिकलाई आइडी दिने व्यवस्थाको पहल गरे भारतीय बैंकमा खाता खोल्न सजिलो हुने र वैधानिक तवरबाट वार्षिक ५ खर्व भन्दा बढि रेमिट्यान्स नेपालमा भित्राउनसक्ने भन्दै त्यसको लागि सरकारको अग्रसरता र सहजीकरण आवश्यक पर्ने बताउनु भयो ।
अध्यक्ष गोल्यानले नेपालको आर्थिक विकासका लागि कृषि, उर्जा, पर्यटन, भौतिक पूर्वाधारको विकास, आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले रोजगारमुलक उद्योगको स्थापना गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सूचना प्रविधि क्षेत्रको वृहत्तर विकास गर्दै डिजिटल इकोनोमी, अझ भनौँ डिजिटल नेपालको फ्रेमवर्कमा सरकारले काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि क्षेत्रको प्रवर्द्धनका लागि भण्डारण एवं बजारको व्यवस्थापन र कृषि प्रशोधन केन्द्रहरुको स्थापना गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेपालको आर्थिक विकासका लागि कृषि, उर्जा, पर्यटन, भौतिक पूर्वाधारको विकास, आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक छ । रोजगारमुलक उद्योगको स्थापना गर्न आवश्यक छ । सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास गर्दै डिजिटल इकोनोमी, अझ भनौ डिजिटल नेपालको फ्रेमवर्कमा सरकारले काम गर्न आवश्यक छ । कृषि क्षेत्रको प्रवद्र्धनका लागि भण्डारण एवं बजारको व्यवस्थापन र कृषि प्रशोधन केन्द्रहरुको स्थापना गर्नुपर्दछ । बहुसंख्यक नागरिकको जीवनयापन कृषि क्षेत्रबाट हुने भएकोले कृषि पूर्वाधारको निर्माण, मल, बीउबिजनको वितरण, कृषि यन्त्रको उपलब्धता, भण्डारण र ढुवानीको समस्याको निकासका लागि र महङ्गो खरिद प्रक्रियालाई सरल बनाउन स्थानीय सरकारले सहुलियत दरमा उपलब्ध गराउन पिपिपि मोडल अपनाउन जरुरी देखिन्छ ।’
उहाँले कृषि पूर्वाधारको निर्माण, मल, बिउबिजनको वितरण, कृषि यन्त्रको उपलब्धता, भण्डारण र ढुवानीको समस्या सरकारले समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले कृषि यन्त्रहरुको महङ्गो खरिद प्रक्रियालाई सरल बनाउन स्थानीय सरकारले सहुलियत दरमा उपलब्ध गराउन पिपिपि मोडल अपनाउन जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्