
काठमाडाैं । जनमत पार्टी पर्साले वीरगन्जको गण्डकमा अवस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालले बिरामीको उपचार बापत परिवारजनसंग विभिन्न शीर्षकमा लिएको रकम फिर्ता गर्न माग गरेको छ ।
जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले आइतबार एक विज्ञप्ति जारी गर्दै रकम फिर्ता गर्न माग गरेका हुन् ।
जनमत पार्टी पर्साका संयोजक सर्राफले जारी गरेको विज्ञप्तिमा बिरामीको उपचार सुरु गर्न अघि उपचारमा लाग्ने खचर्चको पूर्व जानकारी बिरामीका परिवारजनलाई गराउन, अस्पतालको बीलमा लेखिने रकमको स्पष्ट आधार खुल्ने विवरण राख्न , अस्पतालमा नागरिक वडापत्र राख्न र उपचारका क्रममा बिरामीको मृत्यु भएमा उपचारमा लागेको खर्च रकम मिनाहा गर्न पनि पनि माग गरिएको छ ।
गत बैशाख १३ गते मोटरसाइकल दुर्घटनामा परि घाइते भएका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का विजय चौरसिया र धिरज गुरुङको बयोधा मेडिसिटी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।
उपचार बापत अस्पतालले चौरसियाको परिवारजनसंग ३ लाख १० हजार र गुरुङको परिवारजनसंग ६ लाख रुपैया लिएको थियो । तर ती दुवै जनाको परिवारसंग अस्पतालले हुदै नभएको उपचार र अनेक शीर्षकमा अत्यन्त महङगो शुल्क लिएको गुनासो आएपछि जनमत पार्टीले अस्पतालले लिएको रकम फिर्ता गर्न माग गरेको हो ।
यसका साथै जनमत पार्टीले बयोधा मेडिसिटीसहित अन्य अस्पतालहरुलाई पनि बिरामीको उपचारमा चर्को शुल्क नलिन ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्