
काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
यार्सा खोज्न गएका जुम्लाका दुई जना गत शुक्रबारदेखि बेपत्ता भएका हुन् । नेपाली सेनाको नेतृत्वमा सोमबार बिहानदेखि हेलिकाेप्टर र स्थल मार्गबाट उनीहरुलाई खोज्न सुरु गरिएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीको हिउँमा पुरिएर मृत्यु भएको थियो । सोही गाउँका ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका छन् ।
सरकारले जेठ नलागिकन यार्सा संकलनमा जान रोक लगाएकोमा उनीहरु लुकेर यार्सा खोज्न लेकतिर गएका थिए । उनीहरु बेपत्ता भएकाे लेकमा पुग्न मुगुको कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिन लाग्छ ।
प्रतिक्रिया दिनुहोस्