११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रतिनिधि सभा बैठक : कसले के बाेले ?


221
Shares

काठमाडाैं । प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गर्नुभएको हो । सांसद सिंहले आकस्मिक समयमा बोल्न नपाएको भन्दै आफ्नो सर्ट र गन्जी खोलेर बिरोध जनाउनुभएको थियो । सोही कारण स्वास्थ्य जाँचको माग गरिएको हो । त्यस्तै उहाँले बारा जिल्लामा हात्तीले बालिनाली र घर नष्ट गरेको भन्दै सम्बन्धित निकायसँग हात्ती नियन्त्रण र व्यवस्थापन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य आश्माकुमारी चौधरीले कृषकलाई बीउबिजन र मल सहजै पाउने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भूमिहिन, सुकुम्वासीहरुको समस्या समाधान गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउनु भयो । उहाँले सो प्रकरणमा खुट्टा नकमाउन सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै कुनै प्रलोभनमा नपर्न पनि उहाँको आग्रह छ ।

प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले तीनै तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालय र सरकारी क्याम्पसमा भर्ना गर्ने नीति बनाउन माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लाहरुमा यार्सागुम्बा टिप्न जानेहरुकोको मृत्यु र बेपत्ता हुनेगरेका भन्दै ति ठाउँहरुमा व्यापक सुरक्षाकर्मी, औषधि लगायत आवश्यक व्यवस्थापन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य किरणकुमार शाहले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट हाल्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । सबै क्षेत्रहरुमा समान रुपमा बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले यसअघि पनि विभिन्न विषयले सदन तातिने र नयाँ काण्ड आएपछि पुरानो काण्ड सेलाउने गरेको भन्दै यस घटनामा त्यस्तो नहोस् भनेर सचेत गराउनु भयो ।

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि समसामयिक विषयमा र आफ्नो क्षेत्रको विकास निर्माणको कामहरुको सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।