१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंकहरुले अब मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने


4.797k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक त्रैमासपछि मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्ने प्रावधानमा संशोधन गरेको छ ।

राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सोमबार जारी गरेको निर्देशिकामा यसअघि कायम रहेको एक त्रैमासमा एक पटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था हटाएको हो ।

यो संशोधनसँगै नयाँ वा पुराना कर्जाको ब्याजदर अब मासिक रुपमै घटबढ हुनसक्ने छ । बैंकको आधार दरसँगै कर्जाको ब्याजदर पनि घटबढ हुने छ ।

पछिल्लो समय निक्षेपको ब्याजदर घटेर आधार दर घट्दा पनि चर्को ब्याज तिर्न बाध्य पुराना ऋणीहरुलाई राहत हुने छ ।

नयाँ निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अब कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नु पर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा नपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, बैंक तथा वित्तिय संस्थाहरुले आधार दरमा आउने परिवर्तन अनुसार स्वतः कर्जाको ब्याजदर परिवर्तन हुने ब्यवस्था गर्नुपर्ने छ भने ब्याजदर घटाउँदा सबै ग्राहकले समान रुपमा सुविधा पाउनु पर्ने छ ।