२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदीप यादवको प्रश्न– ‘टोपबहादुर दोषी छैनन् भने किन लुकेका ?’


364
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले नक्कली शरणार्थी प्रकरणमा सांसद रायमाझीले प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्नेमा उल्टै रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ करोडौं रकम असुल्ने मुद्दामा फरार रहनुभएका फरार माननीय टोपबहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन । यदि उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् ? लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्दछ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छवि अन्तर्राष्ट्रिय मंचमा नै धमिलो बनेको यादवको भनाइ थियो । उक्त प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँले माग गर्नुभयो ।