
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताउनुभएको छ ।
मन्त्री बस्नेतले सो बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भिरतापूर्वक लिएको बताउनुभयो ।
बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेटगरी उहाँले स्वास्थ्य बिमा गरेका मानिसहरुलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको दाबी पनि गर्नुभयो ।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भएपनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको पटकपटक दोहोर्याउनुभयो । उहाँले क्यान्सर जस्ता प्राणघातक रोगहरुको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्