१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सबैतिर बजेट नछर्ने सरकारको योजना छ : अर्थमन्त्री महत


273
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने बताउनुभएको हो ।

उहाँले आफूलाई बजेट छर्ने दबाब रहेको भएपनि आफूले त्यस्तो नगर्ने संकेत गर्नुभयो । उहाँले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारसँग स्रोतको सुनिश्चिता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका नभएर अब क्षेत्रगत भित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले जनताका आवश्यकताहरु थुप्रै रहेको बताउनुभयो । उहाँले अहिले सरकारलाई बजेटको चुनौति भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै भएको भन्दै साधन र स्रोतको सिमिततामा बस्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौति सरकारलाई रहेको बताउनुभयो ।

उहाँले सांसदहरुबाट समेत योजनाहरु माग भइ आउने र बजेट छर्ने दबाब रहेको उल्लेख गर्नुभयो। उहाँले जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वभाविक भएपनि स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले सरकार आगामी बजेटमा जनतामा राज्य प्रतिको भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ उन्मुख हुनेगरी बजेट ल्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले वर्तमान समस्या र चुनौति समाधान गरी राज्यप्रति जनताको भरोसा टुटन नदिन सरकारले गम्भिरताका साथ अग्रसर रहेको बताउनुभयो । उहाँले कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्रमा शिथिलता आएको दाबी गर्नुभयो ।

उहाँले अर्थतन्त्रलाई चलायमान गराउने उपाय खोज्ने बताउनु भयो। उहाँले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्ने बताउनु भयो। उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने बताउनुभयो । उहाँले पुँजीगत खर्च बढाउन सरकारको स्रोत सिमित रहेको बताउनुभयो । उहाँले राज्य प्रणालीमा समस्या भएकाले लक्ष्य अनुसारको पुँजीगत खर्च नभएको भन्दै अब नौ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्तय गरिने बताउनुभयो ।

अर्थमन्त्री डा.महतले सांसदहरुले संसदमा भनेको जस्तो मुलुकको अर्थतन्त्र धराशायी नभएको बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्र तिब्ररुपमा उकालो लाग्नुपर्ने भएपनि तिब्र रुपमा उकालो लाग्न नसकेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक वृद्धिदर सकारात्मक रहेको दाबी गर्नुभयो । उहाँले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धि हुन नसकेको आफूले स्वीकार गरेको बताउनुभयो । उहाँले सामान्यतया विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दा अर्थतन्त्रमा यी कमजोरीहरु छन् भनेर विगतमा बजेट प्रस्तुत गर्ने प्रचलन नभएको तर आफूले शुरुवात गरेको बताउनुभयो । उहाँले समस्या र चुनौति स्वीकार गरेर अघि बढ्यो भने मात्रै अर्थतन्त्र ठिक ठाउँमा पुग्ने बताउनुभयो । उहाँले ३२ प्रतिशतले राजश्व संकलन बढाउने लक्ष्य लिए पनि त्यो पूरा नभएको बताउनुभयो ।

उहाँले सरकारलाई ऋणको दायित्व बढ्दै गएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका शिथिलता विदेशी मुद्रालाई व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले मुलुक श्रीलंका बन्ने बहस हुँदा त्यसलाई मध्यनजर राखेर मौद्रिक नीति ल्याउँदा र आयातमा प्रतिवन्ध लगाउँदा केही समस्या आएको बताउनुभयो ।