
काठमाडौं । नेकपा (एमाले)को केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्र्रतिवेदन पेस गर्नुभएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराएको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
उहाँले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा बिफ्रिङ गर्नुभएको पनि बताउनुभयो । उहाँले बैठकमा केन्द्रिय सल्लाहकार परिषद्को अध्यक्षले आफ्नो सुझाव सल्लाह पेस गर्नुभएको बताउनुभयो ।
बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो ।
उपमहासचिव गुरुङले मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रश्तुत गर्नुभएको बताउनुभयो । अन्य प्रदेशको रिपोर्ट भने शुक्रवारको बैठकमा पेस गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्