
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
मन्त्री बस्नेतले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताउनु भयो ।
उहाँले पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरू भइसकेको पनि बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गरेको बताउनुभयो । उहाँले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष सिन्धुपाल्चोकका समग्र समस्या अवगत गराउँदै आएको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्