९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘युवालाई राष्ट्र विकासको मूलधारमा जोड्ने गरी स्काउटलाई उपयोग गर्नुपर्छ’


39
Shares

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल स्काउटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाल स्काउटका संरक्षक समेत रहनु भएका मन्त्री लिम्बुले ‘एक घरः एक स्काउट’ को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पार्नुभयो ।

उहाँले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सहज हुने स्मरण गराउनुभयो । मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

मन्त्री लिम्बुले मुलुकलाई समृद्ध बनाउन नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो । नेपाल स्काउट अन्तराष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले मुलुकको समृद्धि र विकासका लागि संकल्प लिएर अघि बढन पनि नेपाल स्काउटलाई आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री लिम्बुलाई नेपाल स्काउटको संरक्षकको रुपमा दीक्षित गरिएको थियो ।