६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चट्याङ लागेर घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र


2.158k
Shares

काठमाडौं । चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन । उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् ।

तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२, हुम्दुम्तीमा चट्याङ लागेर घाइते भएकाको उद्धार हुन सकेको छैन । घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर सदरमुकाम खलंगामै थन्किएको छ ।

उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलंगा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सागुम्बा संकलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।

उनीहरू गाउँलेसँगै यार्सागुम्बा संकलनका लागि हिमाली भेग उक्लेका थिए । दार्चुलाको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा संकलन गरिन्छ ।